१७ पुस बाँके । माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५९८ जनाको उद्धार गरिएको जनाएको छ ।नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँग भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार काम, विवाह, घुमघाम, किनमेल लगायतको बहाना बनाएर नाका पार हुन थालेका शंकास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि उनीहरुलाई नेपाल फिर्ता गरिएको हो । संयोजक कोइरालाले एक वर्षमा ७७७ जनाको खोजतलासको निवेदन परेको र ४०७ जना फेला परेको समेत जानकारी गराउनु भयो ।भारत तथा तेस्रो मुलुकमा पुगेकाहरु सम्पर्कमा नआएपछि आफन्तले खोजतलासको निवेदन दिएका थिए ।संयोजक कोइरालाले सन् २०२४मा खोजतलासको निवेदन धेरै पर्नेमा बाँके जिल्ला अगाडि रहेको जानकारी दिनुभयो । जोखिमपूर्ण यात्रा गर्दै नाका पार हुनेहरुमा प्रायः जसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन् ।सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालहरु बेचविखनमा सक्रिय रहेको उल्लेख गर्दै संयोजक कोइरालाले तीनै तहका सरकारसँग समन्वय गरेर मानव बेचबिखन नियन्त्रणसम्बन्धी काम गरिरहेको बताउनु भयो ।
